बाढीको स्थितिमा सुधार

भुटानी शरणार्थी प्रकरण : हाईप्रोफाइललाई सोधपुछ गर्ने प्रहरीको कुनै तयारी छैन

काठमाडौं । भुटानी शरणार्थी प्रकरण गहिरो बन्दै जाँदा यस घटनामा चर्चित नेताहरुको नाम धमाधम आउन थालेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा (जो प्राय ठूला भ्रष्टाचारमा आरोपित हुने गरेकी छिन्) , पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी श्रीमती मञ्जु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, कांग्रेस नेता रामहरि खतिवडादेखि पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको नामसमेत चर्चामा छ ।

सामाजिक सञ्जालमा केही दिनदेखि भाइरल भएको अडियोमा कोही व्यक्तिले मञ्जुलाई उनकै घरमा पुगेर ६ करोड र आरजुलाई साढे दुई करोड बुझाएको बताएका छन् ।

तर प्रहरीले भने अडियोलाई मात्र आधार मानेर कसैलाई बयान लिन नबोलाइने बताएको छ । प्रहरी स्रोतका अनुसार तत्काल आरजु र मञ्जुलाई अनुसन्धानको दायरामा ल्याउने तयारी नरहेको जनाएको छ । काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार अडियोमा भनिए जस्तो पैसा बुझाएको पुष्टि हुने प्रमाण अहिलेसम्म नभेटिएको बताएका छन् ।

स्रोतका अनुसार बयानमा पोलिएका र अडियोसँग जोडिएका अन्य हाईप्रोफाइललाई प्रहरीले सोधपुछसम्मको तयारी गरेको छैन ।

घटनामा पक्राउ परेका सानु भण्डारीले केही नेता र उच्च पदस्थको नाम लिए पनि प्रहरीले भने ठोस प्रमाणविना कसैलाई पनि जबरजस्ती अनुसन्धानमा नतान्ने बताएको छ ।

भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६० जनाभन्दा बढी जाहेरवाला देखिएका छन् । उनीहरुले शरणार्थी बनेर अमेरिका जान २० देखि ५० लाख रुपैयाँसम्म बुझाएका थिए ।

 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ५ : ५३ बजे