विद्युत् खम्बामा क्षति हुँदा एक हजार पाँच सय घरधुरी अन्धकारमा

दमौली (तनहुँ)। बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ ।

वर्षासँगै आएको पहिरोले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सिमाना नाल्दीमा रहेको विद्युत् खम्बामा क्षति पुग्दा देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नुपरेको हो । पहिरोले सडकसमेत अवरुद्ध हुँदा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो ।

नाल्दीमा गाडिएको ११ केभी ‘डबल सर्किट’ ११ मिटरका नौ थान स्टिल विद्युत् खम्बा ढलेर प्रयोग गर्न नसकिने गरी क्षति भएको रेग्मीले बताउनुभयो । बाढीपहिरोले जिल्लाका अन्य ठाउँमा समेत विद्युत् खम्बामा क्षति पुगेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार भानु नगरपालिकाको शेपाबगैँचा, व्यास नगरपालिकाको छाब्दीबाराही, घाँसीकुवा, कमलाबारी, करङकाठलगायत ठाउँमा पहिरोले विद्युत् खम्बामा क्षति पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ६ : ४९ बजे