मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशभर मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको बताउनुभएको छ । 

काठमाडौँको महाराजगञ्जमा भएको मिसन ग्रसरुट अभियान र सिकाइ छलफल तथा अन्तरक्रिया कार्यक्रममा पार्टीले हाल अभियानको समीक्षा गरिरहेको उहाँले जानकारी दिनुभयो ।  मिसन ग्रासरुट अभियानका सबै प्रतिवेदनका आधारमा पार्टी केन्द्रीय कमिटीको आगामी कार्ययोजनाको जग तयार गरिने पनि उहाँले बताउनुभयो । “एउटा प्रदेशमा ९० वटा प्रतिवेदन तयारी हुने र देशभरिका सात सय ५३ पालिकाबाट अलगअलग प्रतिवेदन आउनेछ । पार्टी कमिटीको कार्ययोजना सबै प्रतिवेदनका आधारमा बन्नेछ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले प्रदेशको प्रतिवेदनका आधारमा प्रदेशको कार्ययोजना बन्ने, जिल्ला प्रतिवेदनको निष्कर्षका आधारमा जिल्ला कार्ययोजना बन्ने र पालिका प्रतिवेदनका आधारमा पालिका कार्ययोजना निर्माण गर्ने तयारी गरिएको बताउनुभयो ।

नेपालको राजनीतिक इतिहासमा यति ठुलो अभियान यो पहिलो पटक गरिएको भन्नुहुँदै उहाँले पार्टीले के अपेक्षा राखेको थियो र के कस्तो नतिजा आयो भन्ने कुरा आगामी दिनमा आधारभूत तहका प्रतिवेदनले दिने बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “आगामी चार वर्षपछिको निर्वाचनमा बलियो राष्ट्रिय बहुमत प्राप्त गर्न सहज होस् भनेर पार्टीले देशव्यापी अभियान चलाएको छ । वैचारिक साङ्गठनिक अभियानको मुख्य उद्देश्य युवाबीच पार्टीलाई पुर्‍याउन र स्थापित गर्न पनि हो ।”

“मिसन ग्रासरुट पार्टी सुदृढीकरणको विस्तार अभियानलाई हामीले अगाडि बढाउन खोजेका छौँ । मिसनको उद्देश्य तत्कालको परिणाममा हामी केन्द्रित छैनौँ । चार वर्ष पछाडि यो मुलुकमा नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नेछ । मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्न सक्ने खालको बहुमतको सरकार बनाउने सामर्थ्यका रूपमा हामीले अभियानलाई हेरेका छौँ”, उहाँले थप्नुभयो । पार्टीभित्रको सक्रियता निष्क्रियता सबै मापन गरेर सक्रियको जमातका रूपमा पार्टीलाई रूपान्तरित गरिने उहाँको भनाइ थियो । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : ५६ बजे