गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनुहुने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ः०० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लाग्नु भएको हो ।

विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिइसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो । 

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। 

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छ।

गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको मुख्यमन्त्री बन्नुभएको थियो।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : १९ बजे