बाढीको स्थितिमा सुधार

सिटी होटलले आइपिओ बिक्री खुला गर्ने

काठमाडौँ । सिटी होटलले आइपिओ बिक्री खुला गर्ने भएको छ । 

होटलले दुई चरण गरी आइपिओ खुला गर्न लागेको हो । 

पहिलो चरणमा सर्वसाधारण र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको छ । 

यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई यही चैत २१ गतेदेखि आइपिओ निष्कासन गर्न लागेको हो ।

सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख  रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । 

जसअनुसार प्रति सेयर १०० अङ्कित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो । सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर निष्कासन गर्न लागेको छ । 

कर्मचारीहरूका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा सर्वसाधारण लगानीकर्ताले वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यसमा वैशाख ५ गतेसम्म आवेदन दिन सकिनेछ । दुवै लगानीकर्ताहरूले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

यो आईपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १० : ५५ बजे