काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैङ्कले उक्त ट्रेजरी २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । मङ्गलवार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैङ्कले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख १२ गते परिपक्व हुनेछ भने ९१ दिनको लागि ११ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १२ गते परिपक्व हुनेछ ।
यसैगरी, १८२ दिनको लागि ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो भने यो ट्रेजरी असोज ९ गते परिपक्व हुनेछ ।
उता, बैङ्कले एक वर्षको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० चैत १३ गते परिपक्व हुनेछ ।
प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ९ : ३५ बजे
प्रतिक्रिया