सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु

काठमाडौँ । सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । 

बुधवार पानी वितरण कार्यको परीक्षण सफल रूपमा सम्पन्न भएपछि आजदेखि २४ घण्टा मेलम्चीको पानी नियमित रूपमा मुलुकको सबैभन्दा ठुलो प्रशासनिक क्षेत्र सिंहदरबारमा वितरण कार्य सुरु हुन लागेको हो । जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीको पानी उपलब्ध हुनेछ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माका अनुसार  आज बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने व्यवस्था मिलाई सकिएको छ । 

उहाँका अनुसार त्यसका लागि पाइप बिछ्याउने, वितरण गर्ने, पानी वितरणको परीक्षण लगायत आवश्यक सबै तयारी पूरा भइसकेको छ ।

सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एफएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । 

सोही पाइपमा १५० एफएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसाली सकिएको छ । सोही ट्याङ्कीबाट सिंहदरबारमा २४ घण्टा नै पानी वितरण हुनेछ । 

सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइपहरू जडान गरिसकिएको छ । मेलम्ची खानेपानी आयोजनाले सिंहदरबारमा ‘पिक–आवर’ मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरेर खानेपानीको संरचनाहरू निर्माण गरेको छ ।  जसअनुसार अब प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको हो ।

यसअघि, बोरिङबाट सिंहदरबारमा पानी वितरण गरिँदै आएको थियो । मेलम्चीबाट पानी वितरण हुने भए पछि सिंहदरबारको भूमिगत पानीको संरचना स्थल क्रमशः पुरानै स्थितिमा फर्कने वातावरण विद्धहरूले जनाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ४६ बजे