प्रभु बैंकका सीईओ विरुद्धको सुनुवाई स्थगित

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचनलाई नियुक्त गर्ने निर्णय खारेज हुनु पर्ने माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाई स्थगित भएको छ ।

उच्च अदालत पाटनमा न्यायाधीश सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा सुनुवाईका लागि आज पेशी तोकिएको थियो । तर, गत आइतबार उच्च अदालतका न्यायाधीश जगदीश घिमिरेको इजलासले गरेको आदेशअनुसार प्रभु बैंक र नेपाल राष्ट्र बैंकका अधिकारीहरुले सक्कल कागजात नलगेपछि सुनुवाई स्थगित भएको हो ।

माघ १३ गते शेरचनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको प्रावधान विपरित सीईओ नियुक्त गरिएको भन्दै उक्त निर्णय खारिजका लागि अधिवक्ता अनिता थापाले उच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । अब उच्च अदालतले सोमबार सक्कल कागजातसहित उपस्थित हुन आदेश दिएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ०२ बजे