नेपालमा इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । 

भारतीय आयल कर्पोरेसन(आइओसी)ले पठाएको मूल्य सूची अनुसार नेपालमा हरेक १५÷१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । 

आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यस विपरीत मूल्य समायोजन गर्ने गरेको देखिन्छ । नेपाल आयल निगमले गत शुक्रवार राति १२ः०० बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ ।  

आइओसीबाट पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा मूल्य घटेर आएको थियो । तर, निगमले भने ५० प्रतिशतभन्दा बढी कम गरेर मूल्य समायोजन गरेको हो । 

भारतबाट घटेर आएअनुसार निगमले मूल्य समायोजन नगरेको यो पहिले पटक भने होइन । आफूलाई घाटामा देखाउँदै निगमले उचित मूल्य समायोजन नगर्ने गरेको आरोप लाग्दै आएको छ । 

आइओसीले मूल्य बढाएर पेट्रोलियम पदार्थ पठाउँदा नेपालमा भाउ बढाउने निगमले मूल्य घटेर आउँदा घटाएको देखिँदैन । यदि घटाइहाल्नुपर्दा पनि निकै कम घटाउने गरेको उपभोक्ताहरू बताउँछन् । पाँच महिनादेखि निगमले उचित मूल्य समायोजन गरेको नगर्दा जनताले सास्ती भोग्नु परको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताउनुभयो । 

उहाँले निगमलाई अमुक बैङ्कबाट ऋण लिनु भनेको सरकार र निगमबीचको चलखेलले समयमै उचित मूल्य समायोजन हुन नसकेको आरोप लगाउनुभयो । वैज्ञानिक ढङ्गबाट मूल्य समायोजन गर्नुपर्नेमा जोड दिँदै महासचिव तिमिल्सिनाले भन्नुभयो, “पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढाइदेऊ, घट्दा पनि घटाइदेऊ । यसो गर्दा उपभोक्ता मारमा पर्ने छैनन् ।”निगमले हवाई इन्धनमा पनि अत्यधिक नाफा लिइरहेको उहाँको दाबी छ । सरकारले जनतालाई भ्याट र ब्याजको नामा ठगी गरिरहेको भन्नुहुँदै उहाँले कमिसन र अनावश्यक सुविधा लिने संस्था र कर्मचारीको कायै शैली परिवर्तन नभए अझै उपभोक्ताले महँगी र असमान मूल्यको सामना गर्नुपर्ने बताउनुभयो । 

उहाँले भारतबाट पेट्रोलियम पदार्थ मूल्य घटेर आउँदा समेत निगमले मूल्य घटाएर समायोजन नगर्नुको कारण सरोकारवालासँग जवाफ माग्नुभयो ।  मूल्य घटेर आउँदा पनि  निगम घाटामा रहेको बहाना देखाएर मूल्य समायोजन नगर्दा मुनाफा जति सबै राज्यको कोषमा जम्मा भइरहेको उहाँको आरोप छ । 

तर, नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निमगमाथि लगाएको आरोप अस्वीकार गर्नुभएको छ । मूल्य समायोजन गर्दा कुनै पनि चलखेल नभएको दाबी गर्दै उहाँले भन्नुभयो, “निगमले कुनै किसिमको चलखेल गरेको छैन । हामी शतप्रतिशत पारदर्शी रूपमा मूल्य समायोजन गरेका छौँ ।”

निगम अझै २० अर्ब बढी ऋण भारमा रहेको भन्दै उहाँले आवश्यकताअनुसार मूल्य घटाउन भने नसकेको स्वीकार गर्नुभयो।“जति मूल्य घटाउनु पर्ने हो, त्यति मूल्य निगमले घटाउन सक्ने अवस्थामा अझै आइपुगेको छैन”, उहाँले भन्नुभयो। 

गत ६ महिनाअघि पेट्रोल र डिजेलको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यस बेलादेखि नै पेट्रोलियम पदार्थको मूल्य अकासिएको थियो । 

निगमले गत ८ जेठमा सार्वजनिक गरेको विज्ञप्तिअनुसार ३ अर्ब ३५ करोडभन्दा बढी घाटा रहेको थियो । सोही मितिदेखि गत शुक्रवारसम्म निगमले भारतबाट ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोललाई १८०, डिजेल र मट्टितेल १६३ रुपैयाँमा बेचिरहेको थियो । त्यस दिनदेखि नै पेट्रोल १८०, डिजेल र मट्टितेल १६३ मूल्य निगले तोकेको थियो । जेठयता पनि भारतबाट मूल्य घटेर आउँदा निगमले मूल्य नघटाई बेचिरहेको थियो । 

भारतले गत मङ्सिर १५ गते पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपैयाँ र हवाई इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा हुँदा पनि निगमले मूल्य घटाएन । 

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ११ : १० बजे