अदुवाभन्दा पिँडालु महँगो

दिपायल । दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ ।

कमै मात्रामा उत्पादन हुने र  कम भाउमा बिक्री हुने पिँडालु यति बेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन , बिपी नगर र कैलालीको धनगढी र  अत्तरियालगायतका  बजारमा  बिक्री भइरहेको छ ।

डोटीको बडीकेदार , जोरायल  र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिल्लो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान  व्यवसाय रूपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् ।

पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार–२ का नरबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अदुवाभन्दा कम मिहिनेत लाग्ने पछिल्लो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको हौँ। ” उहाँले पिँडालु बिक्रीबाट वार्षिक रूपमा रु ३० देखि ४० हजारसम्म आम्दानी हुने गरेको पनि बताउनुभयो ।  आफूले पिँडालु खेती गरेपछि यस क्षेत्रका अधिकांश किसानले पिँडालु खेती गरिरहेका उहाँको भनाइ छ  ।

कुनै समय प्रतिकेजीको रु ९० मा बेचिने अदुवा  यति बेला प्रतिकेजी रु २० का दारले बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ ।   पिँडालु खेतीमा संलग्न बडीकेदार –५ का तेज कोटकेनीले भन्नुभयो, “अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु रु ३० का दरले बिक्री गरिरहेका छन्  ।  पहिले कसैले पनि खरिद नगर्ने  पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधैँभरि किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।” स्थानीय स्तरमा बजारीकरण नभएका कारण किसान सस्तोमा कृषि उपज बेच्न बाध्य भएको उहाँको भनाइ छ । 

दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट राम्रो  आम्दानी भएको बडीकेदार–४ का घनबहादुर ताडीले बताउनुभयो । साठीदेखि ७० रोपनीमा लगाउन गरेको अदुवा खेती बिचौलिया व्यापारीका कारण मिहिनेत गरे जति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उहाँको भनाइ छ । 

यस वर्ष रु १५ हजार बराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको  किसान ताडीले बताउनुभयो । यस क्षेत्रमा बढी मात्रमा उत्पादन हुने अदुवाको मूल्यसँगै बजारमा नबिक्ने भएका कारण अदुवा खेती  छोडेर कोही फलफूल खेती त कोही पिँडालु खेती गरिरहेको उहाँले बताउनुभयो ।

किसानको जीविकोपार्जन गर्दै आएको अदुवा खेती  पछिल्लो समय बजार र कम मूल्य भएका कारण अधिकांश  किसान पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका  कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताउनुभयो । 

यस क्षेत्रमा पिँडालु राम्रो उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिने , बजारीकरण र  चिस्यान केन्द्रका लागि पहल गरिने उहाँले जानकारी दिनुभयो  ।  रासस

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ०६ बजे