बाढीको स्थितिमा सुधार

तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा

भैरहवा । रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । 

केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका–५ को तुरिया बाँध फुटेको हो । 

बाँध बनेपछि हौसिएका किसानहरू धान खेती गरेका थिए ।  असार महिनामा निर्माण गरिएको बाँध एक महिना नबित्दै भत्केपछि उनीहरू अहिले निराश भएका छन् । 

तुरिया खोलामा १० लाखमा निर्माण भएको थियो । बाँध भत्किएर खोला खेतमा पस्दा ठुलो क्षेत्रफल डुबान भएको छ । बाँध भत्किएर खेतमा पसे पनि स्थानीय सरकारका कोही पनि प्रतिनिधि गाउँको अवस्था बुझ्न नआएको जिल्ला समन्वय समिति रुपन्देहीका निवर्तमान उपप्रमुख समेत रहेका स्थानीय पशुपति यादवले गुनासो गर्नुभयो ।

उहाँले किसानको सयौँ बिघा जग्गा डुबानमा परे पनि विपद् व्यवस्थापन समिति लगायतले लापरबाही गरेको आरोप लगाउनुभयो ।“वडा अध्यक्ष नै पालिकाको विपद् व्यवस्थापन समितिको अध्यक्ष छन् । तर, अहिलेसम्म उनी पनि आएका छैनन्”,  यादवले भन्नुभयो । 

रोहिणी गाउँपालिका–५ अन्तर्गत तरकुलहा गाउँ नजिक गत वर्ष पनि तुरिया खोला तट भत्काएर किसानको खेतमा पसेको थियो । 

गत वर्ष बाढीको कारण धान काट्न नपाएको उक्त क्षेत्रका किसानले हारगुहार गर्दै गाउँपालिका समक्ष तटबन्धको लागि अनुरोध गरेका थिए । गाउँपालिकाले पनि तटबन्धको लागि १० लाख रुपैयाँ छुट्टयाएको थियो । त्यसको लागि स्थानीय नन्दलाल यादवको अध्यक्षतामा उपभोक्ता समिति समेत तयार भएको थियो ।

उपभोक्ता समिति गठन भएर गाउँपालिकामा लागत अनुमान गराउन पुगेका नन्दलाललाई १० मिटर चौडाइको बाँध बनाउने गरी लागत अनुमान तयार भएको थियो । १० मिटर चौडाइको बाँध बनाउन स्थानीयले नदिएको कारण काम नै सुरु नै नगरी उपभोक्ता समितिको पदबाट राजीनामा दिएको यादवको भनाइ छ ।

लागत अनुमानको ठिक विपरीत करिब पाँच फिटको बाँध खोला छेउकै बलौटे माटो प्रयोग गरी पूर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादवको नेतृत्वमा बनाइएको स्थानीयहरूको भनाइ छ ।

रोहिणी गाउँपालिकाको कार्यालयले उक्त योजनाको सम्झौता नै नगरिएको जानकारी दिनुभयो । पुरानो उपभोक्ता समितिले काम नगरेपछि वडा कार्यालयले आफैँ आफ्नै तरिकाले उपभोक्ता समिति गठन गरेर पालिकामा पठाएको थियो । सोहीअनुसार समितिले काम पनि गर्‍यो ।

रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले अनुगमनको क्रममा गुणस्तरहीन काम गरेको भन्दै भुक्तानी नगरिएको बताउनुभयो । गुणस्तर हीन कामको कारण नै भत्केको बाँधलाई प्रदेश र सङ्घ सरकारको सहकार्यमा चाँडै मर्मत गरिने उहाँले जनाउनुभयो । 

रोहिणी गाउँपालिका अध्यक्षले प्रभावकारी अनुगमन गरिएको भने पनि उक्त योजना कसरी सम्पन्न भयो? कसले गर्‍यो ? र प्रभावित कृषकहरूको बारे भने पालिकाले अहिलेसम्म कुनै योजना बनाएको छैन । 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ११ : ४४ बजे