बाढीको स्थितिमा सुधार

अमेरिकी विदेशमन्त्री दक्षिणीपूर्वी एशियाको भ्रमणमा निस्कदै

वासिङटन ।   अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन आगामी साता केही दक्षिणपूर्वी एशियाली र अफ्रिकी मुलुकको भ्रमणमा निस्कने भएका छन् ।  

कम्बोडिया, फिलिपिन्ससहितका एशियाली देशको भ्रमण सकेर उनी दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रूवाण्डा प्रस्थान गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।  

दक्षिणपूर्वी एशियाली देशहरुको सङ्गठन (आसियान) का तीनवटा बेग्लाबेग्लै मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विदेशमन्त्री ब्लिङकेन आगामी बुधबार  कम्बोडियाको राजधानी नोमपेन पुग्नेछन् । आसियान मन्त्रिस्तरीय बैठकको आयोजक मुलुक कम्बोडिया हो । 

कम्बोडियामा उनले आसियानमा आवद्ध देशहरुसँगको सम्बन्धलाई थप बलियो बनाउने र सहकार्य बढाउने बारेमा छलफल गर्ने छन् ।  विगतमा भएका सहमति कार्यान्वयनको अवस्थाका बारेमा पनि मन्त्रीस्तरीय बैठकमा  समीक्षा हुनेछ । 

अमेरिका र आसियानबीचको सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा अघि बढाउन  गत मे महिनामा वासिङ्टनमा भएको सहमतिअनुरूप ब्लिङकनको यो भ्रमण हुन लागेको हो । 
कम्बोडियाबाट उनी  फिलिपिन्सतर्फ लाग्नेछन् जहाँ उनले नयाँ राष्ट्रपति र विदेश मन्त्रीलाई भेट्ने कार्यक्रम छ । दुई एशियाली देशको भ्रमण पूरा गरी उनी यही साउन २२ गते अफ्रिकी मुलुकको भ्रमणमा जानेछन् । 

अमेरिकी विदेशमन्त्रीले अफ्रिकी नेताहरूसँग साझा चासोका अन्तर्राष्ट्रिय विषयका साथै जलवायु परिवर्तन, मानव अधिकार, रुस—युक्रेन युद्धलगायत सामयिक मुद्दामा विचारविमर्श गर्नेछन् ।
 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ४ : ०८ बजे