उच्च अदालत बार एशोसिएशन पाटनको अध्यक्षमा शान्तिराम खतिवडा

​​​​​​​काठमाडौँ  । उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी हुनुभएको छ । 

उहाँले एक हजार ६६ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपानेले एक हजार २३ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी नारायण खरेलले २८४ मत प्राप्त गर्नुभएको छ । सचिवमा रवीन्द्रकुमार ढुङ्गाना, सहसचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी हुनुभएको छ ।

त्यस्तै १४ सदस्यमा रमति महर्जन, भवानी भट्टराई, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजीत बस्नेत, शुलभ खनाल, सरिता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी हुनुभएको हो ।  

देशका ९०  बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या दुई हजार ८२८ मतदाता पाटन बारमा छन् ।  उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका थिए । प्रजातान्त्रिक समूहको प्रतिनिधित्व शर्माले गर्नुभएको थियो भने प्रगतिशील समूह शान्तिराम खतिवडाले गर्नुभएको थियो । 

प्रगतिशील समूहमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)निकट कानुन व्यवसायी  थिए ।

नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिवार मतदान सम्पन्न भएर राति अबेर मत परिणाम सार्वजनिक गरिएको थियो । उक्त कार्यसमितिको समयावधि दुई वर्षको हुनेछ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : ११ बजे