क्व्होलासोथार गाउँपालिकाका २१ घर पहिरोको उच्च जोखिममा

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–६ पसगाउँ उपल्लो टोलको २१ घर पहिरोको उच्च जोखिममा परेको छ । 

भिरालो जमिनमा बस्ती रहेकाले जोखिममा परेको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । “दक्ष प्राविधिक ल्याएर पहिरोको थप अनुसन्धान गरेर रोकथाम गर्नुपर्नेछ” उहाँले भन्नुभयो।

दैनिक जसो पानी परिरहँदा स्थानीयहरू भने त्रसित हुने गरेका छन्। उक्त टोलमा १५० भन्दा बढी स्थानीय पहिरोले घर पुर्छ कि भन्ने चिन्तामा छन्।

क्व्होलासोथार गाउँपालिका वडा नम्बर  ६ का अध्यक्ष मनलाल गुरुङले भन्नुभयो, “१५ असारमा ठुलो वर्षापछि पहिरो गएको थियो। सोपश्चात् पटक पटक थप पहिरो जाँदा बस्ती नजिकै पहिरो आइपुग्दा सिङ्गा बस्ती जोखिममा परेको छ । निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका जग्गासमेत सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरो जाने सक्ने सम्भावना छ ।”

पहिरोले बस्ती जोखिम बनाएकोबारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १० : ३५ बजे