बाढीको स्थितिमा सुधार

आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ आज हुने

काठमाडौं- नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ आज हुने भएको छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट हुनुभएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

एआईजी पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजीमा बढुवा हुनुभएको थियो । उहाँले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफु अगाडी रहेको भन्दै सिंह नियुक्ति कानुनविपरीत भएको रिटमा दाबी गर्नुभएको छ ।

रिट निवेदनमा पोखरेलले संविधानको धारा ४६ तथा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषण र परमादेश समेतको माग दाबी गर्दै रिट निवेदन दर्ता गराउनुभएको हो । । पोखरेलले आफू नै वरिष्ठ अतिरिक्त प्रहरी महानिरीक्षक रहेको हुँदा परमादेशमार्फत प्रहरी महानिरीक्षक बनाउन माग दाबी समेत गर्नुभएको छ ।

पोखरेलको पक्षमा कानुन व्यवसायीहरु सतिस खरेल र हरिहर दाहाललगायतले आज बहस गर्नुहुनेछ । सर्वोच्चले आज अन्तरिम आदेश दिन्छ वा छलफलका लागि दुवै पक्षलाई बोलाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : ४३ बजे