काठमाडौं – राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
पार्टीको महाधिवेशनपछि पदाधिकारी र केन्द्रीय सदस्यको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्नुपर्ने प्रावधान अनुसार दुवै काम आज गरिएको कार्यलय सचिव डा.भिष्म अधिकारीले बताउनुभयो ।
उपमहासचिव विष्णु रिमालका साथै केन्द्रीय सदस्यहरु केशव वडाल र निरज आचार्य सहितको टोलीले निर्वाचन आयोगमा दल दर्ता गराएको डा. अधिकारीले जानकारी दिनुभयो । एमालेको दशौं महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको नामावली समेत अद्यावधिक गर्नुका साथै राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता समेत गरिएको छ ।
आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मिति तोकिएको छ ।
प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार ७ : ४६ बजे
प्रतिक्रिया