राजनीतिक स्थायीत्व विना मुलुक समृद्ध हुन सक्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायीत्व विना मुलुकको समृद्धि हुन नसक्ने बताउनुभएको छ ।  रेडियो नेपाल कर्मचारी युनियनको आठौँ अधिवेशन समारोहमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायीत्वमा समस्या देखिँदै गएको सङ्केत गर्दै एकातर्फ एमाले र अर्कोतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठिक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताउनुभयो ।

“एउटा कोण नेकपा ९एमाले०को छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्थायीत्व चाहिन्छ भन्ने छ”, पोखरेलले भन्नुभयो, “अर्कोतर्फ संविधानप्रतिको एकनासको सहमती छैन, कानूनको विषयमा एक मत छैन, मुल्य मान्यतामा एकमत नभई पनि गठबन्धन बनेको छ ।” राष्ट्रिय राजनीतिको परिदृष्यलाई ठिक ढङ्गले बुझेर कुन ठाउँमा उभिने हो निर्णय गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।  

उहाँले राज्य संरचनाभित्र न्यायपालिकाका उद्देश्यअनुसार नीतिगत र कानूनी प्रवन्ध हुनुपर्नेमा जोड दिँदै उद्देश्य भाषणमा राम्रा हुने तर त्यसलाई बहन गर्ने साधन ठिक ढङ्गले नबन्दा नीति एकातिर जनता अर्कातिर भइरहेको बताउनुभयो । लामो इतिहास बोकेको रेडियो नेपालमा हुनुपर्ने प्रगति हुन सक्यो की सकेन भनेर हेर्नुपर्ने उहाँको धारणा थियो । उहाँले राष्ट्रिय सरोकारको मुद्दामा सचेत र सजक हुन पनि सुझाव दिनुभयो । 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : १२ बजे