बाँदरझुलाका बासिन्दाद्वारा लालपूर्जा माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । चितवनको बाँदरझुलाका बासिन्दाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

आफूहरु लामो समयदेखि बसोबास गर्दै आएपनि लालपूर्जा नपाएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।  उनीहरुले आफूहरु भूमिहीन रहेको र राज्यले बेवास्ता गरेको गुनासो गरे 
प्रदर्शनमा सहभागीहरुले हामीलाई लालपूर्जा दे, जसको जोत त्यसको पोत, बाँदरझुला के भन्छ लाजपूर्जा ले भन्छ, जमिनको हक मौलिक हक, बाँदरझुलाबासीलाई न्याय दे, सुकुम्बासीको समस्या समाधान गर लगायत नारा पनि लगाएका थिए  । 

चितवनबाटै पटक पटक राज्यको ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएपछि बाध्य भएर काठमाडौं आएर प्रदर्शन गर्नुपरेको बाँदरझुला संघर्ष समितिले जनाएको छ । आफूले खनजोत गर्दै आएको जमिनको पूर्जा तत्काल दिइनुपर्ने उनीहरुको माग छ । आफुहरुसँग लालपूर्जा नहुँदा राष्ट्रिय निकुञ्जबाट सास्ती बेहोर्नुपरेको उनीहरुको गुनासो छ । 

चितवनबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरु राज्यको उच्च तहमा पुग्दा पनि बाँदरझुलाका जनता भने लालपूर्जाबिहीन हुनु दुस्खद भएको उनीहरुले गुनासो गरे । अहिले आफूहरु केही प्रतिनिधिका रुपमा मात्रै काठमाडौं आएको भन्दै उनीहरुले माग पूरा नभए बाँदरझुलाका सम्पूर्ण पीडितहरु काठमाडौं आइ विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : १८ बजे