बाढीको स्थितिमा सुधार

मण्डन देउपुर नगरपालिकाको नगरसभा बहिष्कार

काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवाले भष्टचार, अनियमितता र मनपरी गरेको भन्दै उपप्रमुख निर्मला शाही सहित अधिकांश वडा अध्यक्ष र कार्यपालिका सदस्यले मण्डनदेउपुर नगरपालिकाको नगर सभा बहिष्कार गरेका छन् ।

उनीहरूले नवौँ नगरपरिषद्मा अधिकार प्रत्यायोजन सम्बन्धी प्रस्ताव नै नआएको भन्दै मेयर वाइवाले अधिकार प्रत्यायोजन लिन किर्ते गरेको आरोप लगाएका छन् । उपप्रमुख साहीका अनुसार आव २०७८’०७९ को नीति तथा कार्यक्रम र बजेट पुस्तिकामा नगरप्रमुख वाइवाले किर्ते गरी नगर प्रमुखलाई बजेट रकमान्तर, तोक आदेशमा बजेट विनियोजन गर्ने अधिकार लिएको देखाएका छन्, जबकि उक्त प्रस्ताव नगरपरिषद्मा आएकै छैन । उपमेयर शाहीले भनिन् ,‘ यसरी दिनदहाडै किर्ते गर्ने मेयरको काम कदापि सह्य हुँदैन, हामी नगर सभा बहिष्कार गर्छौ ।’

नगरसभामा नगरप्रमुख वाइवाले ५ लाख बजेट भन्दा कमका योजनाहरुको अनुगमन गर्नु नपर्ने प्रस्ताव समेत पेश गरेपछि उनीहरुले नगरसभा बहिष्कार गरेका हुन् । ‘मेयर वाइवाले कार्यपालिकामा पाँच लाखसम्मका बजेटलाई अनुगमन नै नगर्नु पर्ने भन्दै कार्यकर्ता पोषण र कमाउधन्दा गर्न खोजे, यो भनेको आर्थिक अनियमितता को नियत छताछुल्ल हुनु हो हामी यो नगरसभा हुन दिंदैनौ’ उनीहरुले भने ।
बहिष्कार गर्ने जनप्रतिनीधिहरुले नगर परिषदमा प्रस्तावित बजेट सिलिङ भन्दा बढाएर नगरप्रमुख वाइवाले मनोमानी गरेको र घाटा बजेट ल्याएको आरोप लगाएका छन् । ल्याइएको बजेट कार्यकर्ता भरण पोषण र कमाउँ धन्दाका लागि भएको भन्दै उनीहरूले उक्त बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन् । उनीहरूले वडा परिषद्ले पास गरेर निर्णय गरी नगर परिषदमा बुझाएका योजनासमेत नगरप्रमुख मनपरी ढङ्गले काटेको भन्दै नगर सभा बहिष्कार गरेका हुन् ।

नगरप्रमुख वाइवाले आन्तरिक आम्दानीसमेत बढाएर बजेट पुस्तिकामा प्रस्तुत गरेको आरोप उनीहरूको छ । वाइवाले आन्तरिक आयलाई १८ करोडबाट बढाएर २८ करोड पुर्‍याई झुटो विवरण देखाई किर्ते गरेको उनीहरूको आरोप छ । उनीहरूले वाइवाले कार्यकर्ता भरण पोषण गर्न मनपरी दरबन्दी थप्ने तथा आफन्त र आफ्ना वरपरका चन्चेहरुलाई जागिरखुवाइरहेको बताए ।

वाइवाले डोजर खरिद तथा सञ्चालनमा कार्यविधिको अवज्ञा गर्दै पदीय दुरुपयोग गरी आफूखुसी डोजर सञ्चालन गर्नुका साथै आफ्ना मनपरेका मान्छेलाई मोटरसाइकल सुविधाका नाउँमा रकम कुम्लाइरहेको उनीहरूको आरोप छ ।

नगरप्रमुख वाइवाले बजेटको दुरुपयोग गरी अनावश्यक योजना तथा कार्यक्रमबाट बजेट विनियोजन गरी राज्यको ढुकुटीमा गम्भीर खेलबाड गरेको भन्दै उनीहरूले प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा, लेखा शाखा तथा योजना अनुगमन समितिलाई तोक आदेश नगर्न आग्रह गरेका छन् । नगर सभा बहिष्कार गर्नेहरूमा उपप्रमुख निर्मला शाही, ९ नंं वडा अध्यक्ष जितबहादुर तामाङ, ८ नं वडा अध्यक्ष झलकप्रसाद पौडेल, ४ नं वडा अध्यक्ष भुवनप्रसाद बजगाईँ कार्यपालिका सदस्य खड्गबहादुर पुकोटी,गीता नेपाल,निलकुमारी विशुखे,सुमित्रा भट्टराई,कृष्णबहादुर सार्की लगायत छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : २४ बजे