बाढीको स्थितिमा सुधार

अब क्यूआर कोड र इसेवाबाट एमालेलाई चन्दा दिन सकिने

काठमाडौँ – नेकपा एमालेले आसन्न १०औँ महाधिवेशनमा गरिने खर्च उठाउन क्युआर कोड सार्वजनिक गरेको छ । कार्यकर्ता  र शुभेच्छुकलाई न्यूनतम १०० रुपैयाँ बैङ्क खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्युआर कोड सार्वजनिक गरेको हो । 

महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्युआर कोडसँगै इसेवा र फोन पेबाट न्यूनतम १०० रुपैयाँ जम्मा गर्न भनेको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सदस्यलाई आफ्नो सदस्यता नम्बरसहित सहयोगको अपिल गरिएको र शुभेच्छुकलाई परिचयसहित सहयोग गर्न आग्रह गरिएको बताए । 

यसअघि एमालेले राष्ट्रिय वाणिज्य बैङ्क टेकुमा रहेको पार्टीको खातामा रकम जम्मा गर्न भनेको थियो । तर, लोगो सार्वजनिक गर्न आयोजित कार्यक्रममा भने चन्दाका लागि क्युआर कोड, इसेवा र फोन पे एप्स सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ३९ बजे