बाढीको स्थितिमा सुधार

एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक : गैँडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा 

काठमाडौं – आगामी १०–१२ मंसिरमा चितवनको नारायणगढमा हुने नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको हो । 

कार्यक्रममा ‘नारायणगढ जाउँ, महाधिवेशन सफल पारौं' भन्ने जिंगल सार्वजनिक गरिएको छ । यस्तै, गैँडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको लोगो पनि सार्वजनिक भएको छ । कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा आउने सबै प्रतिनिधिका लागि बस्न आवश्यक होटल र खानपानको  व्यवस्था मिलाइ सकेको बताउनु भयो  । उहाँले सो अवसरमा मौषम परिवर्तनका कारण अहिले गैँडाको बासस्थान जोखिममा रहेको र गैँडालाई पुनः जंगल मै फर्काउने सन्देशसहित सांकेतिक रुपमा गैंडालालाई समावेश गरेको बताउनुभयो ।  

उहाँले प्रचारप्रसार समितिले आफ्नो कार्ययोजना बनाएर मूल व्यवस्थापन समितिसँग सहकार्य गरिरहेको पनि बताउनुभयो । यस वर्षको महाधिवेशनमा कपडाको ब्यानार र कागजको पम्प्लेट नबनाउने घोषणा पनि गर्नुभयो । महाधिवेशन प्रचारप्रसारका लागि सोसल मिडिया र पार्टीको वेभसाइट, पेजको प्रयोग गर्ने उहाँले जनाउनु भयो । साथै, देशभर रहेका ठूला होर्डिङ बोर्डलाई पनि प्रयोग गरिनेछ । प्रचार प्रसारमा पार्टीका पूर्वअध्यक्ष र महासचिवहरूको भिडियाहरूलाई पनि राखिने बताउनुभयो ।

कार्यक्रममा प्रवक्ता भट्टराईले ७५३ वटै स्थानीय तहमा प्रचार प्रसारका लागि गोष्ठी, सेमिनार आयोजना गरिने पनि जनाउनुभयो  । साथै बुद्धिजीवी परिषद्को आयोजनामा प्रमुख सहरहरूमा छलफल पनि चलाइने छ । अन्य कार्यक्रममा युवा संघ नेपालले देशभर ७ मंसिरमा मोटरसाइकल र्याली निकाल्ने र चितवन, विरगन्ज काठमाडौंमा बढी प्रचार प्रासार गरिने जनाउनुभयो । साथै, सम्पूर्ण राजमार्ग र शाखामार्गमा स्वागत द्धार तयार गरिने जनाउनुभयो । कार्यक्रममा पार्टीका महासचिव इश्वर पोखरेलले महाधिवेशमा देशभरबाट करिब आठ लाख पार्टी सदस्यबाट प्रतिनिधित्व गर्ने साथीहरुले सहभागीता जनाउने र नयाँ जिम्मेवार नेतृत्व चयन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  २ : २२ बजे