बाढीको स्थितिमा सुधार

जड्याहालाई फूलमाला लगाएर सम्मान

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले नियमित जाँडरक्सी सेवन गर्ने पाँच दर्जन स्थानीयलाई सम्मान गरेको छ ।

उनीहरुलाई गाउँपालिकाकै कार्यालय बोलाएर पोशाकसहित रातो टिका र फूलमालाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले जाँडरक्सी सेवन गरेका उनीहरुलाई खराब बानी सुधार्न सम्मान गरेको हो । उनीहरुलाई मदिराको कुलतबाट छोडाउन व्यङ्गात्मकरुपमा यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

कार्कीले पालिकाभित्र जाँडरक्सी सेवनबाटै धेरै मानिसको घरबार बिग्रिएको, परिवार लथालिंग भएको, परिवार, समाजमा दिनहुँँ झगडा कलह गर्नेहरूलाई खोजी गरी सम्मान गरिएको बताउनुभयो ।

‘जाँडरक्सी खाएको कारणले उहाँहरूलाई सम्मान गरेका होइनौँ । जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन व्यङ्ग्यात्मक रूपमा यो कार्यक्रम गरेका हौँ ।’ उहाँले भन्नुभयो ।

अध्यक्ष कार्कीले आफ्नै तलब भत्ताबाट ३० घरपरिवारलाई जनही ३५ सयका दरले निःशुल्क स्वास्थ बिमा गरिदिने घोषणासमेत गर्नुभएको छ ।

कार्यक्रममा सहभागी अधिकांशले जाँडरक्सी छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ७ : २० बजे