रंगिन कटन क्याण्डीमा अखाद्य रंग ‘रोडामाइन बी’ प्रयोग भएको पाइएपछि उपभोग नगर्न खाद्य विभागको आग्रह

काठमाडौँ । सरकारले सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डी प्रयोग नगर्न आग्रह गरेको छ ।

अखाद्य रङ्ग प्रयोग गरिएको रङ्गिन कटन क्याण्डी सम्बन्धी सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएकोले प्रयोग नगर्न आग्रह गरेको हो ।

‘रोडामाइन बी’ले क्यान्सरजन्य रोग उत्पन्न गर्न सक्ने भएकोले यो अत्यन्त हानिकारक हुने विभागले जनाएको छ । खाद्य पदार्थमा यस प्रकारका अखाद्य रङ्गहरुको प्रयोग निषेध गरिएको छ । विभागको प्रयोगशाला जाँच गर्दा कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ भेटिएको विभागले जनाएको छ ।

विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिनु हुन सम्पूर्ण उपभोक्ता वर्गमा विभाग अनुरोध गर्दछ सूचनामा भनिएको छ । विभागले यस प्रकारको अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउनु हुन सबैमा सूचित गरेको छ ।

सूचनाको बरखिलाफ गरी उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १२ : ०० बजे