अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज, मन्दिरलाई ३ हजार किलो फूलले सजाइयो

काठमाडौँ । भारतको अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा गरिने भएको छ । अयोध्यास्थित नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको हो । 

समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू आएका छन् । यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल हुनुहुन्छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नुहुने छ । बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुनेछ भने  विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले ध्वनि तरङ्गहरू फैलाउनेछन् । 

रामको मूर्तिको प्राण प्रतिष्ठाको ऐतिहासिक अनुष्ठान दिउँसो १२ः२० बजे प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ, सन्त समाज र भीभीआईपी व्यक्तिहरूको उपस्थितिमा हुनेछ ।  प्राण प्रतिष्ठाका लागि ८४ सेकेन्डको अति सूक्ष्म मुहूर्त हुनेछ भने काशीका ज्योतिषी पण्डित गणेशवर शास्त्री द्विदले रोजेको मुहूर्तमा रामलला स्थापना गर्नुहुनेछ ।

यस अवसरमा पूरै अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले सजाइएको छ भने भव्य राम मन्दिरलाई ३ हजार किलो फूलले सजाइएको छ । अभिषेकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माण गर्ने मजदुरहरूसँग भेट गर्नुहुने छ ।  

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : १४ बजे