माघ ३ गते स्वयम्भूस्थित घरको डेरामा फेला परेको शवको पहिचान खुल्यो

काठमाडौं । माघ ३ गते काठमाडौं महानगरपालिका १५, शोभाभगवती, स्वयम्भूस्थित सरिता गिरीको घरमा सढेको अवस्थामा फेला परेको शव सफिना मियाको भएको खुलेको छ ।

आईतवार नेपाल प्रहरीले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । प्रहरीकाअनुसार मृतक महिला तनहुँ जिल्ला भिमाद नगरपालिका(किहुँ गा.वि.स ५) घर भएकी वर्ष ५१ की रहेको बताइएको छ ।

महिलाको हत्याको आशंकामा उनीसँगै बस्ने भारतको दरभंगा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका ४३ वर्षका ईकरामुल हक अन्सारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख भूपेन्द्र खत्रीले बतउनु भयो ।

उहाँले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित शोभा भगवती सरिता गिरीको दुई तले घरको भुँई तलामा सफिना मियाँको हत्या भएको बताउनु भयो । घरमा बस्ने व्यक्ति को बस्नुहुन्थ्यो र केका लागि बस्नुहुन्छ भन्नेकुरा घरधनी स्वयंलाई थाहा नभएको अवस्था रहनु चिन्ताजनक रहेको भन्दै र भाडामा दिँदा को मानिस, केका लागि बस्नुहुन्छ भन्नेकुरा रेकर्ड राखिदिन आग्रह गर्नुभयो । उहाँले मृतक महिला तीन महिना अघिदेखि नै कोठामा मृत रहेको अनुमान प्रहरीको रहेको बताउनु भयो ।

त्यस्तै, प्रहरीले विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ३ का अञ्जन बराललाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । निजको साथबाट बैंकका चेक, लेटरप्याड, स्ट्याम्प र डायरी फेला पारेको प्रहरीले बताएको छ ।

हालसम्म बरामद गरेको ३५ वटा चेकमा उल्लेख भएको रकम १५ करोड ६५ लाख ८० हजार रहेको प्रहरीले बताएको छ । निजले गत एक वर्षदेखि गोविन्द घिमिरेसँग मिलेर ठगि गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ४९ बजे