प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

​​​​​​​काठमाडौँ  । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

सङ्घीय संसद् भवन, बानेश्वरमा दिउँसो ३ः०० बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । 

आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ । बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि माननीय ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि बनाइएको छ । आजको सम्भावित कार्यसूचीमा उल्लेख भएअनुसार संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णार्याथ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसूची तयार गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ५२ बजे