उपनिर्वाचन : बारा क्षेत्र नं.२ मा उपेन्द्र यादव निर्वाचित

बारा ।  प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ ।

गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिनुभएका अध्यक्ष यादव यादव ५ हजार ८१ मतान्तरले विजयी हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार  सत्तारुढ गठबन्धनका उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत ल्याउनुभएको छ भने निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाउनुभयो।

यसैगरी, तेस्रो स्थानमा रहनुभएका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८२९ मत मात्र प्राप्त गर्नुभयो।

त्यस्तै, प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवाली २ हजार ७ सय ३८ मतमा प्राप्त गर्नुभयो ।

बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार आठ सय ८७ जनाले मतदान गरेका थिए ।

गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित हुनुभएको थियो । 

बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।

निर्वाचित हुनुभएका जसपा अध्यक्ष यादवलाई गए राति नै मुख्य निर्वाचन अधिकृत उपाध्यायले प्रमाणपत्र वितरण गर्नुभयो ।

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ३८ बजे