सत्ता गठबन्धनले संविधानको मर्म अनुसार चलेनः विश्वकर्मा

बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनआन्दोलनबाट आएको परिवर्तनका उपलव्धिलाई उल्ट्याउने कोशिष भैरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा नेकपा एमाले रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको सत्ता गठबन्धनले संविधानको मर्म अनुसार ऐन कानुन निर्माणलाई प्राथमिकतामा नराखेको र सडकमा कतै अराजकतावादीहरुको पंक्ति र कतै राजावादीको पंक्ति अगाडि सारेर प्राप्त उपलव्धि उल्ट्याउने खेल भैरहेको बताएका हुन् ।

“सत्ता गठबन्धन संविधानको मर्म बमोजिम चलेको छैन, त्यस अनुरुपमा ऐन कानुन निर्माणमा सरकारको कुनै तदारुकता छैन”–उनले भने, “यसले प्राप्त उपलव्धि कमजोर हुने मात्र होइन सडकमा राजावादी र अराजकतावादी हावी हुने कुरालाई मलजल गरेको छ ।”

नेता विश्वकर्माले २०७२ सालमा जारी संविधानले दुई कार्यकाल पूरा गर्न नपाउँदै पुनरावलोकनको चर्चा उठ्ने गरेको भन्दै कम्तीमा १०÷१५ वर्ष पर्खनुपर्ने बताए । “अहिले नै यसको पुनरावलोकनको बेला भएको छैन, परीक्षणका लागि पनि कम्तीमा १०–१५ वर्ष पर्खनुपर्छ”–उनले भने ।

नेता विश्वकर्माले एमालेले देशव्यापाीरुपमा सञ्चालन गरेको मिसन ग्रासरुटले सबै तहका कार्यकर्ता पंक्तिलाई जिम्मेवार र जवाफदेही बनाएको र सबैमा जागरण पैदा गरेको बताए । पुष्पलालका योगदानको चर्चा गर्दै उनले एमालेले मात्रै सच्चा कम्युनिष्ट पार्टीको नेतृत् वगर्न सक्ने र देशलाई सही बाटोमा हिंडाउन सक्ने दावी गरे ।

कार्यक्रममा बोल्दै पुराना कम्युनिष्ट नेता देवेन्द्र घिमिरेले पुष्पलालका सही विचारको अनुसरण गर्न सके मात्रै देशमा कम्युनिष्ट शासन स्थापना गर्न सकिने बताए । कम्युनिष्ट इतिहासको चर्चा गर्दै उनले पुष्पलाललाई गद्दार भन्नेहरु पाखा लागेको स्मरण गर्दै सबै अटाउन सक्ने कम्युनिष्ट पार्टीको निर्माण नै आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरेलगायतले पनि पार्टीका आगामी कार्यक्रम, योजना र नीतिका बारेमा धारणा राखेका थिए । 
 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ३० बजे