इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ आज 

काठमाडौँ । इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ आज हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान बर्तालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।

रमजान उर्दू क्यालेन्डर अनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठुलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठुलो विशेषता हो । रमजानामा व्रत बस्ने शुक्रवार साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुसी हुने र एक आपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिक रूपमा नमाज पढ्ने गर्दछन् । इदुलफित्र मनाउनका लागि मुसलमान आज बिहानैदेखि तयारीमा जुटेको पाइएका छन् । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ५२ बजे