भक्तपुरका दुई छुटाछुटै स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अं.१५/२० मिटर तल खस्न गई दुर्घटना हुँदा मोटरसाइकल चालक  काठमाडौँ शंखरापुर नगरपालिका वडा नं.५ पालुवारी बस्ने वर्ष ४० को शंखर भोलोन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भई उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडौँ लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि भक्तपुर अस्पताल ल्याइएको जनाइएको छ । थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्लाको सूर्य विनायक नगरपालिका वडा नं. ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नं। को बसलाई सोही दिशाबाट आउँदै गरेको बा ९९ प ३४८५ नं.को स्कुटरले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाउँपालिका वडा नं.७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.२ झौखेल बस्ने वर्ष ३९ की ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

गम्भीर घाइते उनलाई भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिई दुवै सवारी साधन र बस चालक भक्तपुर भक्तपुर नगरपालिका वडा नं.२ ईताछे बस्ने वर्ष ४१ को दयाराम देशेमरु वृत्त जगातीको नियन्त्रणमा रहेको जनाएको छ । 

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ११ : ०५ बजे