दुई वटा मेडिकलमा प्रशासनको सिल

धनगढी – औषधी व्यवस्था विभाग नेपालगञ्जको नेतृत्वमा गरिएको औषधी पसलको अनुगमनका क्रममा धनगढीका दुई वटा मेडिकलमा सिल गरिएको छ । 

बुधबार धनगढी बजारका दुई वटा मेडिकल दर्ता नभएका, सिफासिमा नपरेका औषधी वेच्ने गरेको लगायतका कैफियत भेटिएपछि अनुगमन टोलीले ती मेडिकल सिल गरेको हो ।

ओषधी व्यवस्था विभाग नेपालगञ्जका फारमेसि अधिकृत निरिक्षक दिपेन्द्र कुमार शाहका अनुसार धनगढी उप महानगरपालिका–७ स्थित जेपि क्लिनिक र सो वडाको एस.आर पाराक्लिनिकलाई सिल गरिएको हो । शाहका अनुसार जेपि क्लिनिक दर्ता नै नगरेको पाइएको र एस.आर पाराक्लिनिले दर्ता नगरिएको र सिफारिष नगरिएका औषधी वेच्ने गरेको भेटिएकाले सिल गरिएको हो ।

औषधी व्यवस्था विभागका प्रतिनिधि शाह सहित जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत रविन्द्र ओखेडा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी र स्थानीयको रोहबरमा क्लिनिकहरु सिल गरिएका हुन् ।

यसैगरी अनुगमन समितिले धनगढीका अन्य दुई वटा मेसिडकलमा म्याद नाघेका औषधी र वेच्न सिफारिस नभएका औषधीको विक्रि वितरण गर्ने गरेको भेटिएकाले ती मेडिकलमाथी पनि कारवाहीको प्रक्रिया अधि बढाएको छ । 

फारमेसि अधिकृत निरिक्षक शाहले अनुगमन गर्दा कम्जोरी भेटिएका दुई वटा मेडिकल सञ्चालकलाई बयान दिनका लागि नेपालगञ्ज कार्यालय बोलाइएको बताए । उनका अनुसार बयानका लागि बोलायइएका मेडिकल सञ्चालकले दिएको बयानका आधारमा बाँकी प्रक्रिया अघि बढाइने छ ।

सिल गरिएका क्लिनिकका हकमा भने आवश्यक जरिवाना तिरेर कानूनी प्रक्रिया पुरा गरेपछि मात्रै सञ्चालनको अनुमति दिइने निरिक्षक शाहले बताए । ‘दुई वटा मेडिकललाई वयान दिएर आफ्नो मेडिकलको बारेमा जानकारी दिने मौका दिएका छौं,’ शाहले भने, ‘उनिहरुको बयानका आधारमा के गर्ने भन्ने निर्णय होला तर सिल गरिएका मेडिकलको हकमा भने कानून अनुसार कारवाही अघि बढ्ने छ ।’

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ०८ बजे