उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

उदयपुर । लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् ।

किसानले व्यावसायिक रूपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरूले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

यस वर्ष पनि ताप्लीको ओख्ले, पिपल भन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली सुन्तला जोन क्षेत्रका संयोजक तथा व्यावसायिक सुन्तला उत्पादक कृषक टोपबहादुर ठकुरीले जानकारी दिनुभयो । 

विसं २०५० देखि नै ताप्लीमा सुन्तला खेती थालिए पनि २०६० सालदेखि व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्न थालिएको  ओख्लेका ज्ञानबहादुर ठकुरी बताउनुहुन्छ । 

“अहिले ताप्ली जिल्लाकै उत्कृष्ट सुन्तला जोन क्षेत्र बन्न सफल भएको छ”, उहाँले भन्नुभयो । 

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले झन्डै दुई सय ५८ हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । ताप्ली क्षेत्रमा मात्रै एक सय ८० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको ज्ञान केन्द्रका प्रमुख महेश चौधरी बताउनुहुन्छ । “सुन्तलाकै कारण यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार आएको छ”, उहाँले भन्नुभयो । 

ताप्लीकी उपाध्यक्ष धना मगर केही वर्षयता यस क्षेत्रमा वार्षिक झन्डै दुई हजार चार सय मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने गरेको तथ्याङ्क रहेको बताउनुहुन्छ । “अन्य अन्नबाली उत्पादन पर्याप्त हुँदैन, सुन्तलाका लागि नै यो क्षेत्र उपयुक्त छ । गाउँपालिकाले जनताको आर्थिक स्तर उकास्न सुन्तला जोन क्षेत्र घोषणा गरी घरघरमा सय बोट सुन्तला हुर्काउने अभियान सञ्चालन गरेको छ”, उहाँले भन्नुभयो । 

ताप्ली पिपल भञ्ज्याङका बीर्खबहादुर राई यस क्षेत्रमा व्यावसायिक सुन्तला उत्पादन गर्ने कृषकको आर्थिक अवस्थामा सुधार हुँदै गएको बताउनुहुन्छ । कृषि ज्ञान केन्द्रका उदयपुरका अनुसार रौतामाई र लिम्चुङबुङ  गाउँपालिकामा समेत सुन्तला खेती विस्तार गरिँदै छ । 

रौताको नामेटार, आपटार, बोलुङखा र सल्ले, पाँबु उदयपुर गढी गाउँपालिकाको डुम्रे र उदयपुर गढी तथा लिम्चुङबुङको बाँसबोटे, बलाम्ता, बराह, ताम्लिछा,  लाफासहितका क्षेत्रमा व्यापक सुन्तला खेती विस्तार गर्दै लगिएको छ । यहाँ सुन्तला प्रतिकिलो रु ८० देखि रु एक सयसम्ममा बिक्री हुने गरेको छ । रासस

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : ०९ बजे