धुञ्चेमा वाणिज्य बैङ्कको शाखा स्थापना

रसुवा । राष्ट्रिय वाणिज्य बैङ्कले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न  धुञ्चेमा शाखा विस्तार गरेको छ ।

बैङ्कले करिब चार वर्ष अगाडि कालिका स्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो ।  

नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैङ्क सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरेले संयुक्त रूपमा  शनिवार वाणिज्य बैङ्क धुञ्चे शाखा कार्यालयको शुभारम्भ गर्नुभयो ।  योसँगै बैङ्कले  सबै खाले कारोबार सेवा खुला समेत गरेको छ ।

शाखाले उत्तरी क्षेत्रका लाङ्टाङ, टिमुरे, थुमन, चिलिमे, हाकु, गोल्जुङ, गतलाङ, स्याफ्रुसमेतका बासिन्दालाई प्रत्यक्ष सेवा दिने उक्त शाखाका प्रबन्धक हेमन्त सुवेदीले जानकारी दिनुभयो ।

रसुवागढी नाका सञ्चालनमा आएपश्चात् निजी क्षेत्रबाट दर्जनौँ बैङ्क रसुवा भित्रिए छन् ।   वाणिज्य बैङ्कले धुञ्चेमा थप शाखा विस्तार गरेसँगै स्थानीय बासिन्दा हर्षित भएको रसुवा नागरिक समाजले जनाएको छ ।

सो अवसरमा बैङ्कका सञ्चालक समिति सदस्य केदार घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेल, जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, बैङ्क प्रदेश प्रबन्धक ध्रुवप्रसाद अर्याललगायतको सहभागिता रहेको थियो ।  

विपन्न, व्यापारिक, घर निर्माणसमेतका विविध शीर्षकमा रु पाँच लाखदेखि पाँच करोडसम्म बैङ्कले कर्जा प्रवाह गर्ने जनाइएको छ ।  बैङ्कले नेपाल राष्ट्र बैङ्कको नीति, नियम र मापदण्डका आधारमा सेवा प्रवाह गर्ने जनाइएको छ । रासस

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ४३ बजे