विश्व मत्स्य दिवस : दानव नदीमा ५० हजार भुरा छाडियो (फोटोफिचर)

भैरहवा । जलीय जैविक विविधताको संरक्षण गर्न दानव नदीमा माछाका भुरा छोडिएको छ । 

नस्ल सुधार गर्दै स्थानीय जातका माछाको सङ्ख्या बढाउने उद्देश्यले विश्व मत्स्य दिवसकै अवसरमा नदीमा ५० हजारभन्दा बढी  विभिन्न जातका माछाका भुरा छाडिएको हो ।

स्वदेशी जातका माछा लोप हुन थालेपछि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपाल मत्स्य व्यवसायी सङ्घ, जलदेवी मत्स्य उत्पादक सहकारी लगायतको संयुक्त आयोजनामा नैनी, रहु जातका माछाको भुरा छाडिएको हो । 

स्थानीय माछा प्राकृतिक जलाशयहरूमा घट्ने क्रममा रहेकोले जलीय विविधताको संरक्षण गर्न दिवसको सन्दर्भ पारेर जनचेतनामूलक प्रभात फेरी गरी नदीमा माछा छोडिएको शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रका मत्स्य अधिकृत रमेश जयसवालले बताउनुभयो ।

मानवीय क्रियाकलापले माछाको सङ्ख्या घट्ने भएकोले सन्तुलन गर्नका लागि पनि विगतका वर्षहरू जस्तै यस वर्ष पनि माछाका भुरा छोडिएको हो । 

प्राकृतिक जलाशयमा विभिन्न मानवीय गतिविधिले स्थानीय जातको माछा नष्ट हुँदै गएका छन् ।  त्यसको संरक्षण र प्रवर्द्धन गर्न उन्नत जातका र स्थानीय जातका माछाका भुरा प्राकृतिक जलाशयमा राखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.प्रवेज आलमले बताउनुभयो ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख नारायण काफ्लेले रुपन्देहीमा विगत ७ वर्षदेखि माछा सुपर जोन कार्यक्रम लागू भई माछाको व्यवसाय प्रवर्द्धन गर्दै प्राकृतिक जलाशयमा परम्परागत र स्थानीय माछाको संवर्द्धन मा कृषकहरूका लागि सहयोग गर्दै आएको बताउनुभयो । 

कार्यालयले पनि कृषक र उद्यमीहरूलाई यान्त्रीकरण र प्रविधि प्रयोग गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नै कार्यमा सहकार्य  गरेकाले कृषकहरू उत्साहित भएको काफ्ले बताउँछन् ।  

दिवसको अवसरमा जनचेतनामूलक र्‍याली गरिएको थियो भने लोप हुन लागेका माझीहरूलाई आफ्नो पेसाको संरक्षण गर्न प्रोत्साहन स्वरूप सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ११ : ४९ बजे