राउटे युवतीलाई यौन दुर्व्यवहार गर्नेलाई ७ वर्ष कैद सजाय

सुर्खेत । राउटे समुदायकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत सुर्खेतले  दुई जनालाई  सात वर्ष कैद र जनही दुई लाख जरिवाना तोकेको छ ।

बिहीबार सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात,सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।

उनीहरूले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ । जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वल रावलका अनुसार युवतीमाथि यौन दुर्व्यवहार गरिएको होटलका सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

होटल सञ्चालक पुनले कैदसँगै १ लाख रुपैयाँ जरिवानासहित ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो सार्वजनिक भएपछि २०७८ जेठ २३ गते प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : १८ बजे