सरकारी जग्गा भोगचलनपछि छानबिन सुरु

काठमाडौँ ।  सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी र मालपोत तथा नापी कार्यालयका अधिकारीलाई छानबिनका लागि बोलाएको छ । 

आयोगले आज एक सूचनामार्फत धनुषाको जनकपुर पिडारीचोकको आठ बिघा बढी सरकारी तथा सार्वजनिक जग्गा भोगचलन गरेको भन्दै दिवविक्रम शाहलगायतलाई सात दिनभित्र आयोगमा सम्पर्क राख्न भनेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सार्वजनिक तथा सरकारी जग्गा भोगचलन गरेको भन्ने उजुरीका आधारमा छानबिनका लागि उनीहरुलाई बोलाइएको जानकारी दिनुभयो । 

आयोगले दिवविक्रम, विभाकुमारी यादव, राजकिशोर महासेठ, बिमला देवी, विजयकुमार मण्डल, चन्द्रकला कुमारी देवीलगायत २७ जनालाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखामा सम्पर्क राख्न आग्रह गरेको छ । विभिन्न कित्ताको ठूलो परिमाणको  सरकारी जग्गा व्यक्तिले भोगचलन गरिरहेको भन्ने उजुरीपछि आयोगले चासो व्यक्त गरेको हो । 

आयोगले मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत शशीनारायणलाल दास, नापी कार्यालय धनुषाका नापी टोली प्रमुख चौमानसिंह थापा र नापी कार्यालय धनुषाका निरीक्षक सीताराम साहलाई पनि सम्पर्कका लागि बोलाएको छ ।
 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  २ : ५१ बजे