बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ ।

वैशाख  ३० गते देशभरका स्थानीय तहमा निर्वाचन हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

१० वटा मतदान स्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ । बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

१० वडा रहेको नगरपालिकाको मतदाता सङ्ख्या १२ हजार ६ सय ५९ छ  । 

निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

नगरपालिका प्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र काङ्ग्रेसबाट रंगबहादुर खाती उम्मेदवार हुनुहुन्छ

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ७ : २० बजे