कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

पर्वत । ​​​​​​​ कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस–९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाट रहेका छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते बनाएका थिए । २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा अलिको पत्नीको मृत्यु भएको थियो । 

यसैगरी जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउसो बाँके साविक सोनपुर गाविस–२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी एक महिलालाई सामूहिक बलात्कार गरेका थिए । 

कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेले २० वर्ष कैद सजाय सुनाएको थियो । जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । 

अदालतले सजाय सुनाएपछि फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल–भारत सिमावर्ति क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ५९ बजे