भोलि हुने बुढीगंगा नगरपालिकाको निर्वाचन तयारी पूरा 

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा भोलि हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ। 

भोलि (असार २३ गते) हुने  मतदानका लागि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन कार्यालय बाजुराका अनुसार कर्मचारीसहित सुरक्षाकर्मी आ–आफ्नो कार्यक्षेत्र रहेको मतदान स्थलमा पुगिसकेका छन्। बुढिगंगामा १ हजार  सुरक्षाकर्मी परिचालित गरिएको छ ।

१० वटा मतदान स्थल रहको यस पालिकामा हरेक मतदान स्थलमा  १ सय जना सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताउनुभयो । 

१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको बुढीगंगामा पुन : मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

१० वडा रहेको यस नगरपालिकाको कूल मतदाता सङ्ख्या १२ हजार ६ सय ५९  रहेको छ । १० वटै मतदान स्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीसमेत परिचालित भइसकेका छन् । 

मङ्गलवारदेखि उनीहरूले संयुक्त रूपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती  सुरु गरेका छन् । “कसैले पनि मतदान गर्न पाइएन भन्ने अवस्था आउन दिन्नौँ” प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले भन्नुभयो । 

उहाँले पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र  हरेक बुथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको कमान्ड रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।  

नेपाली सेना पनि मतदान स्थल  नजिकै रहने प्रहरी कार्यालय बाजुराले जनाएको छ।मतदान स्थल रहेको विद्यालयमा एक साताअघिदेखि नै बिदा दिइएको छ भने मङ्गलवारदेखि तीन दिन नगरपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन् ।

बुढिगंगाको निर्वाचनमा १० वडाका वडा अध्यक्ष, सदस्यसहित नगर प्रमुखमा एमालेका राम बहादुर बानिया र काँग्रेसका रङ्ग खाती तथा उपप्रमुखमा एमालेबाट माया खड्का र काङ्ग्रेसबाट रिता शाही उम्मेदवार हुनुहुन्छ ।

यसअघि वैशाख–३० मा भएको निर्वाचनमा निर्वाचन आयोगले धाँधली भएको भन्दै बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ९ : ४० बजे