कोशीका नौ जिल्लामा बाढीको जोखिम : महाशाखा

काठमाडौँ । कोशी प्रदेशका नौ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशीको ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ । साथै आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।

भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपासका जिल्ला भई बग्ने साना नदीहरुको बहाव बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यसैगरी, बुधबार र बिहीबार कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । जलसतह उल्लेख्य बढ्ने भएकाले कन्काई नदी किनार क्षेत्रमा भने उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

नेपालका ठूला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सामान्य मात्र घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । त्यसैले यी नदी किनारमा दुई दिन सामान्य सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १२ : ५३ बजे