बागमतीको जम्बो मन्त्रीपरिषद् : आज पनि ६ जना थपिदैं

हेटौंडा । सरकार टिकाउन बागमती प्रदेशमा मन्त्री परिषद् जम्बो बनाउनेक्रम रोकिएको छैन । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज थप ६ जना मन्त्री बनाउदै छन् । उनले नेपाली कांग्रेसबाट ३–३ जना मन्त्री र राज्यमन्त्री नियुक्त गर्दैछन्।

कांग्रेस स्रोतका अनुसार कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल नियुक्त हुने भएका छन्।

त्यस्तैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र रजनी अमात्य जोन्छे उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्ने पक्का भएको छ।

मुख्यमन्त्री पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन यसअघि नै आठ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्‍याएका थिए। हाल प्रदेशमा ११ मन्त्री र एकजना राज्यमन्त्रीसहित १२ जना सरकारमा छन्।

आज ६ मन्त्री थपिएसँगै बागमती प्रदेशमा १८ जना मन्त्री हुनेछन्।  

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : १४ बजे