नेत्री दर्शनाद्वारा पार्टी परित्यागको घोषणा

 काठमाडौँ । विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले पार्टी परित्याग गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो । “म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा  पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु”, विज्ञप्तिमा भनिएको छ ।

आगामी स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिरुपमा सक्रिय हुने भन्दै नेत्री दर्शनाले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठन, मूल नेतृत्व नै सही नभएको आरोप लगाउनुभएको छ । उहाँ तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुनुहुन्छ । उहाँ स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारसमेत बन्नुभएको थियो 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  २ : ०२ बजे