बस दुर्घटना हुँदा एक शिशुको मृत्युः ५ जना घाइते

सुदुरपश्चिम । नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो । 
 
दुर्घटनामा घाइते पाँच जना नेपालीको अवस्था सामान्य रहेको छ । बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।  
 
धनगढीको अछाम होटेलका सञ्चालकको कालिका मष्टाबण्डली टुर्स एण्ड ट्राभल्सबाट टिकट लिएर युपी (३३) पी १३७५ नम्बरको बस भारतको राजकोट जान लागेका अवस्थामा दुर्घटना परेको जनाइएको छ । रासस

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १२ : ०५ बजे