पासोमा परेको चितुवाको उद्धार

पाल्पा । तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । 

खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षित रूपमा उद्धार गरिएको हो । 

चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धार गृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

निमित्त डिभिजन वन अधिकृत संयोग बस्नेतको कमाण्डमा खटिएको टोलीले जोखिमपूर्ण अवस्थामा पोथी वयस्क चितुवाको उद्धार गरिएको पाल्पाका रेन्जर पोखरेलले बताउनुभयो । 

उद्धार कार्यमा सहायक वन अधिकृत सिद्धान्त बराल र सवारी चालक लक्ष्मण घिमिरेले चितुवाको उद्धार कार्यको नेतृत्व गर्नुभएको थियो ।

प्रहरी चौकी प्रभास तानसेन–८ का वडाध्यक्ष रामप्रसाद घिमिरे, स्थानीय बासिन्दा केशव कार्की, सन्तोष राना, रुपेश रोका, विक्रम श्रेष्ठ, लोकबहादुर चिदी, सन्दीप विष्ट, रोशन रानालगायतको सक्रियताले उद्धार कार्य सफल भएको थियो । चितुवा नजिकै फलामको पासो भेटिएपछि वन कार्यालय निगरानी थालेको छ । 

उद्धार गरिएको चितुवालाई रुपन्देही जिल्लाको शङ्कनगरको बाटिकामा लगिने तयारी भइरहेको वन कार्यालय जनाएको छ । रासस

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : ४० बजे