कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल प्रदेश नं १ र बांकी पहाडी भु-भागहरुमा आंशिक बदली  रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ तथा बांकी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

​​​​​​​शुक्रबारबाट भने नेपालमा मौसम प्रतिकूल हुने भएको छ । 

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय  प्रणालीका कारण शुक्रबार बिहानबाट सुदूरपश्चिम हुँदै पूर्वतिर बादल सर्नेछ । सो क्रममा  सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ  ।

सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । ‘उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ। आउँदो शनिवार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ,’ महाशाखाले भनेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : १३ बजे