जलवायु परिवर्तन सम्मेलन कोप २८ मा सहभागीहरूसँगको संवाद सम्पन्न

​​​​​​​ काठमाडौँ । आदिवासी जनजाति समुदायका युवाहरूलाई जलवायु परिवर्तन र यसले निम्त्याइरहेको विश्व संकटबारे जानकारी दिने उद्धेश्यले आयोजित अनुभव आदानप्रदान कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । 

जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन कोप २८ मा भाग लिएका नेपालका आदिवासी जनजाति प्रतिनिधीहरूको अनुभव सुनाउन फोरम फर इन्डिजिनियस गर्ल्स (फिग नेपाल) र अल इन फाउन्डेसन (एआईएफ) ले आज मङ्गलबार संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेको हो । 

ती प्रतिनिधीहरूले जलवायु परिवर्तनका कारण नेपाल लगायत विश्वका आदिवासीहरूमा परेको प्रभाव र यसको न्युनिकरणका लागि भएका छलफल र परिणामहरूबारे आफ्ना अनुभवहरू सुनाएका छन् । 

आयोजक फिग नेपालका अध्यक्ष सबनम लामाका अनुसार जलवायु परिवर्तन, वन तथा वातावरणीय संरक्षणका विषयमा आदिवासी समुदायका युवाहरूलाई सचेत गराउने उद्धेश्यले सामुहिक संवादको कार्यक्रम आयोजना गरिएको हो । 

त्यसैगरी अर्का आयोजक संस्था  अल इन फाउन्डेसन (एआईएफ) की अध्यक्ष नेहा मल्लले आज सम्पन्न छलफलबाट भविष्यमा आयोजना हुने कोप बैठकहरूमा नेपालका आदिवासी समुदायका युवा पुस्ताको सहभागित कसरी सुनिश्चित गराउने भन्ने विषयमा थुप्रै उपाय र सुझाबहरू प्राप्त भएको बताउनुभयो ।    

आयोजक फिग नेपालका अकिना सिंह सुवालले कार्यक्रमको उद्धेश्य माथी प्रकाशपार्दै नेपाली आदिवासी जनजाति र नेपालका युवाहरूमा कोपको अवधारणाबारे जानकारी गराउन साझा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

अर्का आयोजक संस्था  अल इन फाउन्डेसन (एआईएफ) की अध्यक्ष नेहा मल्लले सहभागीहरूलाई स्वागत गरेपश्चात कोप २८ का प्रतिनिधिहरूले अनुभव सुनाउन शुरू भएको थियो । 

सो अवसरमा  दुबईमा सन् २०२३ को नोभेम्बर ३० देखि डिसेम्बर १३ सम्म सञ्चालित कोप २८ सम्मेलनको शुभारम्भ समारोहका वक्ता पेमा वाङ्‌मो लामाद्वारा प्रस्तुत सम्बोधन बाचन गरेर सुनाइएको थियो । सहभागीसँग आफ्नो अनुभव सुनाउनुहुँदै  वाङ्‌मोले पृथ्वीको तापक्रम बढ्दै जानाले आदिवासीको सामुहिक अस्तित्व नै खतरामा परेको र  भावी पुस्ताका निम्ति ढिला नगरी साझा सहकार्य गर्न आफूले विश्व समुदायसँग आव्हान गरेको  अनुभव सुनाउनुभयो । वाङ्‌मो नेपाल आदिवासी महिला महासंघका कार्यक्रम संयोजक हुनुहुन्छ । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (निफिन) का बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, निफिनकै जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम निर्देशक टुङ्गाभद्र राई,  संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनएनडिपी) का जलवायु सम्बन्धि युवा अभियन्ता प्रतिमा खड्गी, आदिवासी महिला कानुनी सचेतना समूहका इन्दिरा श्रीस, आदिवासी जनजातिका लागि संयुक्त राष्ट्र संघीय स्वेच्छिक कोषका बोर्ड ट्रस्टी सदस्य देबकुमार सुनुवार र राष्ट्रिय आदिवासी महिला मञ्चका उपाध्यक्ष यसोकान्ति भट्टचन लगायतले आ आफ्ना अनुभव सुनाउनु भएको थियो ।  

कार्यक्रममा बोल्दै आयोजक अल इन फाउन्डेसन (एआईएफ) का बोर्ड सदस्य अर्नब चौधरीले कार्यक्रममा व्यक्त भएका कोप २८ सम्बन्धी अनुभव, विचार, दृष्टिकोण र सुझाबहरूलाई समेटेर एक दस्तावेजका रूपमा प्रकाशन गर्ने योजना रहेको सहभागीहरूलाइ सुनाउनुभयो । 

काठमाडौंको अनामनगरमा आज आयोजित सो कार्यक्रम नेपाल आदिवासी जनताति पत्रकार महासंघ (फोनिज) को मिडया सहकार्यमा सम्पन्न भएको हो ।

​​​​​​​

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ३५ बजे