नागढुंगा सुरुङ छिचोल्न अब ५४ मिटर मात्रै बाँकी, ढेड महिनामा ‘ब्रेक थ्रु’ हुने

काठमाडौं । वहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको मुख्य सुरुङ छिचोल्न अब ५४.६० मिटर मात्रै बाँकी छ ।

सुरुङ मार्गको कुल लम्बाइ २,६८८ मिटरमध्ये हालसम्म २,६३३.४० मिटर सुरुङ खन्ने काम पुरा भइसकेको छ । सुरुङ खन्न अब एक प्रतिशत मात्र बाँकी छ । आयोजनाले आकस्मिक सुरुङ मार्ग गत भदौमै ‘ब्रेक थ्रु’ गरेको थियो । अबको डेढ महिनाभित्र सुरुङमार्ग ‘ब्रेक थ्र’ गर्ने तयारी छ । तर सुरुङ मार्गका आवश्यक सम्पूर्ण काम सक्न भने अझै एक वर्ष समय लाग्ने जनाइएको छ ।

नागढुंगा सुरुङ निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डुमरुका अनुसार सुरुङ मार्गतर्फ मुख्य टनेल, इभाक्युएसन टनेल र वर्किङ अडिट र क्रस प्यासेज लगायतको भने समष्टि प्रगति भने ५४.६० प्रतिशत रहेको छ । इभाक्यूसन टनेलको ब्रेक थ्रुरु भने सन् २०२३ अगष्ट ७ मा भएको थियो । आयोजनाका अनुसार मुख्य सुरुङको भुईं ढलान (कंक्रिट) लाइनिङको काम भने १४ सय ९२ मिटर अर्थात् ५३.१० प्रतिशत काम सकिएको छ ।

आयोजनाका अनुसार सुरुङमार्गको समष्टिगत भौतिक प्रगति भने ६९.१५ प्रतिशत रहेको छ भने वित्तीय प्रगति भने ६३.९३ प्रतिशत छ । यो आयोजनामा जापानी सहयोग नियोग जाइकाले ऋण स्वरूप दिन साढे १६ अर्ब र नेपाल सरकारको करिब ६ अर्ब गरी साढे २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । जाइकाले दिने साढे १६ अर्ब ऋणमध्ये १३ अर्ब ३३ करोड सुरुङ मार्ग निर्माण र साढे तीन अर्ब परामर्शदाता कम्पनीका लागि तोकिएको छ । नेपाल सरकारको करिब ६ अर्ब मुआब्जामा खर्च हुनेछ ।

सुरु ठेक्का सम्झौताअनुसार आयोजना ३० महिनाभित्रै अर्थात् सन् २०२३ अप्रिल २६ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो । पहिलो चरणमा आयोजनाको म्याद ८६ दिन मात्रै थपियो । थपिएको समयभित्र निर्माण सम्पन्न नभएपछि फेरि २०२४ अप्रिल २५ सम्म म्याद बढाइएको छ । तर पछिल्लो समय सीमाभित्र पनि आयोजना निर्माण सम्पन्न नहुने देखिन्छ । आयोजनाको अनुसार अबको झन्डै १४ महिनाभित्र यो आयोजना निर्माण सम्पन्न हुने बताइएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ५० बजे