‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रपति भण्डारीलाई ढाकामा न्यानो स्वागत

ढाका ।  राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणका लागि आज ढाका पुग्नुभएको छ । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा भाग लिन उहाँ ढाका जानुभएको हो ।

बंगलादेशको स्थानीय समयानुसार बिहान १०ः१७ बजे बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले भण्डारीलाई हजरत शाहजालाल विमानस्थलमा स्वागत गर्नुभएको थियो । कोभिड–१९ प्रोटोकलको कारण फूलको गुच्छा दिएर स्वागत गरिएको थियो ।

भण्डारीलाई विमानस्थलमा बंगलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ । भण्डारीको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित थिए ।

आजै नेपाली राष्ट्रपतिले ढाकाको सावर पुगेर बंगालदेशी स्वतन्त्रता आन्दोलनका शहिदको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ । भण्डारीले सावरमा वृक्षारोपण गर्ने र आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्नुहुने छ ।

अपरान्ह राष्ट्रपति भण्डारी आफ्नो सम्मानमा त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले आयोजना गर्ने नेसनल परेड स्क्वायरमा उपस्थित हुने कार्यक्रम छ । राष्ट्रपति बंगबन्धुको शतवार्षिकामा पनि भण्डारीले सम्बोधन गर्ने जनाइएको छ । बेलुका आयोजना हुने रात्रीभोजमा भण्डारी सरिक हुने जनाइएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ५४ सदस्य छन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : १८ बजे