कांग्रेस सांसद शर्मा पक्राउबारे प्रहरीले पठायो सभामुखलाई पत्र

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

सीआईबीले उनलाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दिएको छ । शर्माले प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाइएको छ ।

प्लस टु को प्रमाणपत्रमा उनी आफैँले नम्बर थापेको पाइएको छ । शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

यसैबीच, सांसद सुनिल शर्माको पक्राउबारे सीआईबीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।

संसद् सचिवालयलाई पत्र पठाउँदै पक्राउबारे जानकारी दिएको हो ।

 

उनले गत साउन ३ गते त्रिभुवन विमानस्थल परिसरबाट बरामद १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए। 

शर्माले गत साउन १० गते संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए। 

‘सुन प्रकरणलाई गुमचुप पारेर गाउँको भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उनले भनेका थिए। 

कांग्रेसकै सांसद शर्माको सार्वजनिक अभिव्यक्तिका कारण अर्थमन्त्री डा. महत रुष्ट बनेका थिए। उता गृहमन्त्री श्रेष्ठ पनि उनीसँग चिढिएका थिए।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले गत साउन १० गते नै सांसद शर्मामाथि कारबाही गर्ने चेतावनी दिएका थिए। 

पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउने क्रममा महतले उक्त चेतावनी दिएका थिए। 

शर्माले आफ्नो अस्पतालमा स्वास्थ्य बिमाको व्यवस्था गर्न दबाब दिँदा आफूले नियमसम्मत हुने भनेपछि जथाभावी बोल्दै हिँडेको आरोप मन्त्री महतको थियो। 

सांसद शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक पनि हुन्।

शर्माले बुधबार प्रतिनिधिसभाको बुधवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले विमानस्थलबाट भएको सुन तस्करीलाई लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ३१ बजे