साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

लुकाइयो मन्त्रिपरिषद्‌बाट पास भएको साइबर सुरक्षा नीति

काठमाडौँ । पटक–पटक मन्त्रिपरिषद्सम्म पुगेर अस्वीकृत भई फर्किएको साइबर सुरक्षासम्बन्धी नीति अन्ततः सरकारले गत मंगलबार स्वीकृत गरे पनि लुकाएकाे  छ ।  पास भएकाे नीतिमा  के–कस्ता विषय र प्रावधान समेटिएका छन् भन्नेबारे आम चासाे भए पनि सरकारले दस्तावेज सार्वजनिक नगरि लुकाएपछि यत्तीखेर अनेक प्रश्न उठेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ स्वीकृत गरेको थियो । बुधबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यसबारे औपचारिक जानकारी गराएकी थिइन् ।  निति पास गरिए पनि साइबर सुरक्षा नीति बनाउन गठित उच्चस्तरीय समितिका विज्ञ सदस्यहरूलाई समेत स्वीकृत नीति उपलब्ध गराइएको छैन । आफूहरूले दिएका सुझाव त्यसमा अटाइएको छ/छैन भन्नेबारे विज्ञ नै अनविज्ञ छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेको मस्यौदामाथि सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङ संयोजक रहेको कार्यदलमा बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी, विजय गौतमसहितको विज्ञ टोलीले सुझाव दिएको थियो ।

समग्र सूचना प्रविधि क्षेत्रलाई दिशानिर्देश गर्ने, डिजिटल डेटालाई सुरक्षित बनाउने र साइबर सुरक्षासम्बन्धी ऐन, कानुन बनाउन बाटो खोल्ने भएकाले साइबर सुरक्षा नीतिलाई लिएर सूचना प्रविधि क्षेत्रका प्रतिनिधिले खुसी व्यक्त गरेका छन् । यो नीति आवश्यक रहेको र आफूहरूले धेरै अघिदेखि नीति बनाउन माग गर्दै आएको भए पनि हाल पारित नै भइसक्दासमेत सार्वजनिक गर्न वा सेयर गर्न हिचकिचाएकोमा भने सरोकारवालाहरूले प्रश्न उठाएका हुन् । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा मोबाइल फोन प्रयोगकर्ताका ग्राहक कुल जनसंख्याभन्दा धेरै १२३ प्रतिशत छ । त्यस्तै ब्रोडब्यान्ड सेवा लिनेहरू २ करोड ७३ लाख ५७ हजार छन् । मोबाइलबाट फोर जी इन्टरनेट चलाउने मात्रै १ करोड ९४ लाख पुगिसकेका छन् । यत्रो ठूलो जनस्तरलाई प्रभाव पार्ने साइबर सुरक्षासम्बन्धी नीति सरकारले चुपचाप पारित गरेर हप्तौंपछि सार्वजनिक गर्न खोज्नु जायज नभएको सरोकारवालाहरूको भनाइ छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : १५ बजे